© २०२३
बुटवल,२८ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा परेका छन्।
वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर साहलाई पनि समावेश गरेको हो। द न्यूयोर्क टाइम्सले पाँच महिनाअघि साहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो ।
साहलाई ‘२०२३ टाइम१०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ।
३३ वर्षीय स्वतन्त्र उम्मेदवार साहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै बालेन प्रभाव सिर्जना गरेको जिकिर गरेको छ।
यसैले गर्दा देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञहरूलाई हराउन सफल भएको पनि टाइम्सले उल्लेख गरेको छ।
निर्वाचनअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारणले आलोचना पनि खेप्न परिरहेको उल्लेख गरिएको छ।