© २०२३
काठमाडौं,२५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदीय मर्यादा विपरित गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । समाजवादी मोर्चाको विराटनगरमा आयोजित सभामा उनले इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मोर्चाले सोमबार विराटनगरको गरेको सन्देशसभामा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतलाई लक्षित गर्दै गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए ।
उनीहरु निरंकुशताका दलालहरु रहेका र जसको चरित्र गुण्डाको भन्दा फरक नभएको प्रधानमन्त्रीको आरोप छ ।
उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । उनले अब समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो, दिनैपर्यो भने ।
भोलि सूदुपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले लाखौं जनतालाई सडकमा ल्याउने र गुण्डाहरु, प्रतिक्रान्तिकारीहरु, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउने जिकिर गरे ।