© २०२३
बुटवल, २४ भदौ । बुटवलमा सम्पन्न प्रथम मदन भण्डारी स्र्पोटस एकेडेमी कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि राजेश स्मृति फाउण्डेसन कपिलबस्तुले चुमेको छ । शनिबार भएको फाईनल खेलमा सयपत्री युवा क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै राजेश स्मृतिले उपाधि चुमेको हो । उपाधिसंगै राजेश स्मृति नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता सयपत्री भने नगद २६ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा होङो गुरुङ उत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । राजेश स्मृतिका पवन शाही उत्कृष्ट गोलकिपर, देवदह ब्यायजका सुरज थारु सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।
मदन भण्डारी स्र्पोट्स एकेडेमीको आयोजनामा शिवनगरस्थित खेलमैदानमा शनिबार भएको फाईनलमा राजेश स्मृतिका मनिष पुन मगरको एकमात्र गोल खेलमा निर्णायक बन्यो ।
कार्यक्रमको विजेता उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी प्रदेशका सभासद तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पुरस्कार बितरण गर्दै युवाहरुलाई खेलमार्फत एकतावद्ध र प्रतिस्प्रधी भावना विकास गर्दै खेल विकास गर्न जरुरी रहेको बताए । पुर्वाधार विकासमा प्रदेश सरकारको चासो बढाउने गरि योजना अघि बढेको उनले बताए । प्रतियोगितामा ३२ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका आयोजक एकेडेमीका गौरव क्षेत्रीले बताए ।