© २०२३
सुर्खेत, २१ भदौ ।
नेकपा एमालेले पार्टीको कर्णाली प्रदेश अधिवेशनका लागि तयारी थालेको छ । आगामी असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा अधिवेशनको उदघाटन हुने एमाले कर्णाली प्रदेशले जनाएको छ । अधिवेशन नजिकिएसँगै नेता तथा कार्यकर्ताहरु आन्तरिक तयारीमा जुटेका छन् ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १० गते उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, कर्णाली प्रदेशका केन्द्रीय सदस्य र एमाले कर्णालीका नेता कार्यकर्ता तोकिएको जिम्मेवारी अनुसार काममा लागिपरेका छन् । पार्टीका इन्चार्ज लेखराज भट्टसहित बिहीबार बसेको बैठकले भदौ ३० गतेसम्म प्रतिनिधि छनोटको काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश कमिटीको कार्यालय बैठकले अधिवेशन तयारीसँगै लोगो समेत सार्वजनिक भएको छ । कर्णालीका ताल तथा अन्य कुराहरुलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै लोगोमा सुर्खेतको काँक्रे विहारलाई पनि प्रस्तुत गरिएको छ । यस्तै मुगुको रारा ताल, तालको छेउँको हिमाल माथिबाट सूर्य उदाएको जस्तो देखाइएको छ । लोगोमा पार्टीको लाल झण्डा पनि फहराइएको छ । त्यसैगरी रातो, सेतो, निलो, पहेँलो लगायतको रंग समावेश भएको छ ।
अधिवेशनमा करिब ६ सय ५० प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशनको प्रतिनिधि छनोट अनुपात भूगोल खुलातर्फ एक सय पार्टी सदस्य बराबर १ हुने, दलिततर्फ ७५ पार्टी सदस्य बराबर एकजना प्रतिनिधि हुने र छनोट भएका प्रतिनिधि मध्ये एकतिहाइ महिला संख्या अनिवार्य हुनुपर्ने बताइएको छ । प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहने तर, समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ । अधिवेशनले समावेशितालाई प्राथमिकता दिएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।