© २०२३
काठमाण्डौ, २१ भदौ । अस्ट्रेलियाले विश्वकप अघि दक्षिण अफ्रिका र भारतसंग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला विहिबारदेखि शुरु हुँदैछ । पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । यी दुई देशबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुन लागेको हो ।
दोस्रो खेल ९ तारिखमा, तेस्रो खेल १२ तारिखमा, चौथो खेल १५ तारिखमा र पाँचौँ तथा अन्तिम खेल १७ तारिखमा हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।
अस्ट्रेलियाले विश्वकप अघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन एकदिवसीय खेलको शृङ्खला खेल्न लागेको हो । भारतसँग सेप्टेम्बर २२, २४ र २७ तारिखमा खेल हुनेछ । एकदिवसीय विश्वकपका लागि घरेलु टोली भारतले रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ भने दक्षिण अफ्रिकाको कप्तानी टेम्बा बभुमा र अस्ट्रेलियाको कप्तानी प्याट कमिन्सले गर्नेछन् । एकदिवसीय विश्वकप अक्टोबर/नोभेम्बरमा भारतमा हुँदैछ ।