Butwal Today

देशभर २१ हजार भन्दा धेरैमा डेंगी संक्रमण, भदौ र असोजमा संक्रमण अझ उच्च हुने

१७ भाद्र २०८०, आइतबार
अ+
अ-

काठमाडौँ, १७ भदौ ।

नेपालमा यस वर्ष २१ हजार भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म नेपालमा २१ हजार २ सय छ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो।

महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण अझ उच्च हुने भन्दै सचेत रहन नागरिकलाई आह्वान गरेको छ।

डेंगी संक्रमणबाट यस वर्ष अहिलेसम्म १३ जनाको मृत्यु भएको महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए।

डेंगी संक्रमणबाट यस वर्ष सुनसरीको धरान क्षेत्र सबैभन्दा धेरै प्रभावित बनेको छ। त्यहाँ मात्रै डेंगी सक्रमणको कारण ८ जनाले ज्यान गुमाएका छन्।

सुनसरीमा मात्रै अहिलेसम्म ११ हजार छ सय ५९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

सुनसरीपछि मोरङमा अहिलेसम्म दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जनामा  डेंगी संक्रमण पुष्टि भएको छ।

डेंगी  ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट फैलिन्छ। यो लामखुट्टेले पानी जम्ने सफा ठाउँमा फुल पार्छ। ती फुलबाट निस्कने लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्ने विज्ञहरुको भनाई छ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी रोग देखिएको थियो। त्यसयता हरेक वर्ष निरन्तर डेंगी संक्रमण बढ्दै गएको छ।

महाशाखाका अनुसार नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा डेंगु संक्रमण पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो।

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगको संक्रमण रोक्न कतिपय स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरेका छन्।