© २०२३
सल्यान, १७ भदौ । सल्यानका दुई सामुदायिक बिद्यालयमा बाल पुस्तकालय स्थापना गरिएको छ । बिद्यालयमा एउटा निश्चित पाठ्यक्रमभित्रका सीमित विषयहरू, सीमित समयभित्र पढाई हुन्छ । जसले गर्दा बालबालिकाको सर्वांगीन विकासमा केही अभाव हुन सक्छ ।
यही विषयलाइ मध्यनजर गर्दै बालबालिकाको रुचि, चाहना र आवश्यकताअनुसारका विभिन्न ज्ञान सामग्रीहरू, खेलौनाहरू, सेवा र सुविधाहरू उपलब्ध गराएर र विभिन्न मनोरञ्जनात्मक, शैक्षिक, सिर्जनात्मक, रचनात्मक कृयाकलाप सञ्चालन गरेर उनीहरूको सर्वांगीन विकासका लागि टेवा पुराउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
दार्मा गाउंपालिका, रुम टु रिड र दलित बिकास समाजको सहकार्यमा नेपाल राष्ट्रिय मावि दार्माकोट र नव सर्वसाधारण मावि रातामाटामा स्थापना गरिएको बाल पुस्तकालयको शुक्रबार पुस्तकालय दिवसको अवसर पारी उद्घाटन गरिएको रुम टु रिड सल्यानले जनाएको छ । पुस्तकालयमा हाल ७०० बढीका दरले पुस्तकालय छन् । र प्रत्येक बर्ष पुस्तकहरु थप्दै लगिने छ ।
यसैवीच सल्यानका १२२ बढी बिद्यालयमा १६ औँ राष्ट्रिय पुस्तकालय दिवस विविध कार्यक्रमका साथ मनाइएको पनि रुम टु रिडले जनाएको छ । पठन गति प्रतियोगिता, वक्तृवकला, कथा वाचन, कथा समिक्षा, कथा लेखन, अनलाइन पुस्तकालयबाट किताब पठन जस्ता कृयायाकलापहरु शुक्रबार सम्पन्न भएका थिए ।
साक्षरता कार्यक्रम लागु भएका र हस्तान्तरण भएका तथा अरु बिद्यालय गरि १२२ बढी बिद्यालयमा पुस्तकालय दिवस मनाइएको रुम टु रिड सल्यानका कार्यक्रम सहायक तपेन्द्र ओलीले जानकारी दिए ।
जिल्लाको छत्रेश्वरी, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका , सिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका , दार्मा तथा कपुरकोट गाउँपालिकाका बिद्यालयहरुमा पुस्तकालयको महत्वलाइ उजागर गर्ने विभिन्न कृयाकलाप सम्पन्न भएका छन् ।
बालबालिकाहरुको पढ्ने सीप र बानीको विकास गर्न अभिवृद्धि गराउन, बालबालिकाहरु बालबालिकाको इच्छा, रुची र क्षमताका पुस्तकहरुमा पहुँच वृद्धि गर्न तथा पुस्तकालय दिवस मार्फत बालबालिकाहरुको पठन संस्कृतिको अभिवृद्धि गराउने उद्धेश्यले पुस्तकालय दिवस मनाइएको रुम टु रिडका वरिष्ठ अधिकृत बबुराम पोखरेलले जनाए ।
शारदा नगरपालिका वडा नं ६ को बालसखा माविमा पठन गति प्रतियोगिता , कथा लेखन प्रतियोगिता तथा अनलाइन पुस्तकालयमा कथा पठन गरिएको शिक्षक प्रबिना बुढाथोकीले बताइन । जसमा कक्षा २ मा पढ्ने दिपिसखा बुढाथोकीले पठन गति प्रतियोगितामा ५५ सेकेन्डमा ४१ शब्दको पाठ पढ्न सफल भएकी थिइन ।