© २०२३
तिलोत्तमा,१३ भदौ । लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले शंकरनगर स्वास्थ्य चौकी परिसरमा सामुदायिक स्वास्थ्य पार्क बनाउन शुरु गरेको छ । एक औपचारिक कार्यक्रमबीच लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका गभर्नर अर्जुनमान सैंजूले बिरुवा रोपेर पार्क स्थापनाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले लायन्स क्लबहरुले समुदायको आवश्यकता अनुसार निस्वार्थ भावले मानवीय र सामाजिक सेवाका कामहरु गर्नुपर्ने बताए । उनले आफूले गरेका कामको ब्राण्डिङ गर्न सुझाव दिंदै क्लबलाई डिक्ट्रिक्टले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
तिलोत्तमा २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले लायन्स बुद्धज्योतिले योगिकुटीमा पनि सुन्दर पार्क बनाएर नमूना काम गरेको बताउंदै स्वास्थ्य चौकीको पार्कलाई पनि त्यस्तै राम्रो बनाउन सुझाव दिए । क्लबका संस्थापक अध्यक्ष भक्तबहादुर खड्काले आफ्नो कार्यकालमा क्लबका पदाधिकारी, सदस्य र दाताहरुबाट सहयोग संकलन गरेर करिब २० लाखमा योगीकुटीमा स्मार्ट लायन्स पार्क स्थापना गरेको स्मरण गर्दै त्यसले क्लबको पहिचान स्थापित गरेको र सामुदायिक स्वास्थ्य पार्कले क्लबको उचाई थप माथि जाने बताए ।
क्लबका अध्यक्ष देवबहादुर कुंवरले क्लबले हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा योगदान पुराउने भएकाले क्लबले पार्क स्थापनालाई प्राथमिकतामा राखेको र अन्य कार्यक्रमहरु पनि गर्ने बताए ।
उनले पार्कहरुको नियमित संरक्षण गरिने र भविष्यमा स्वास्थ्य चौकी परिसरमा बाल उद्यान पनि बनाउने लक्ष्य रहेको बताए । स्वास्थ्य चौकीका प्रमुख राजेश ज्ञवालीले सबैको स्वास्थ्य चौकी परिसरमा पार्क निर्माणले स्वास्थ्य चौकीको सौन्दर्यता बढाउने र हरियालीयुक्त मनोरम दृश्यले सेवाग्राहीलाई सकारात्मक प्रभाव पार्ने बताए ।
क्लबका उपाध्यक्ष एवं गो ग्रीन प्राजेक्टका संयोजक कृष्ण पन्थीले स्वास्थ्य चौकीले उपलब्ध गराएको जग्गामा करिब २ लाख मुल्य बराबरका मानव स्वास्थ्यलाई फाइदा गर्ने बिरुवा र फलफुलहरु लगाई अकर्षक पार्क बनाउने बताए ।