© २०२३
काठमाण्डौ, १० भदौ । गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्यले नेपाल र बेलायत दुबै देशको नागरिकता र पासपोर्ट लिएर गैरकानूनी कार्य गरेको भन्दै उनलाई बर्खास्त गरि छानबिन अघि बढाउन एनआरएनहरुले माग गरेका छन ।
परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहेका गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले आचार्यबाट गैरकानूनी कार्य भएको दाबी गर्दै उपलब्ध प्रमाण र तथ्य सहित मन्त्रालयमा उजुरी दिएको बुटवलटुडेलाई बताए । ‘गैर आवासीय नेपाल संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरबाट उपलब्ध प्रमाण र तथ्य सहित मन्त्रालयमा उजुरी दिएका छौ ।’— उनले भने ।
परराष्ट्र मन्त्रालयमा इमेलमार्फत पत्र पठाएर अध्यक्ष आचार्यलाई बर्खास्त गर्न माग गरिएको उनले बताए । परराष्ट्र र गृहमन्त्रालयमा समेत उजुरी दर्ता भएको अवस्थामा आचार्यलाई पदमा बहाल राखिरहदा अनुसन्धान प्रक्रियामा समेत बाधा पुग्ने, प्रमाण नष्ट गर्न सक्ने र पदको दुरुपयोग गरी अनुसन्धानलाई समेत प्रभावित पार्न सक्ने हुदा तत्काल बर्खास्त गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष मरासिनीले संघको मूल नेतृत्व नै पासपोर्टकाण्ड जस्तो जघन्य कसुरको अनुसन्धानमा हुँदै गर्दा केही समय पछि हुन लागेको महाधिवेशन स्वच्छ, पारदर्शी र विवादरहित ढंगले हुन नसक्ने भएकाले उक्त मुद्धाको छिनोफानो नहुन्जेल सम्मको लागि महाधिवेशन समेत स्थगित गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमार्फत गृहमन्त्रालय, सीआइबी प्रमुख र गैर आवासिय नेपाली संघको कार्यालय बालुवाटारमा पत्र पठाएका छन ।