© २०२३
नवलपुर, ७ भदौ ।
विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेशिन शुभारम्भ गरेको छ ।
जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भूक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । ३३ औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेशिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो । पिओएस मेशिन वायरलेस वाईफाई प्रविधिमा आधारित रहेको उनले जानकारी दिए । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उनको भनाई छ ।
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले आफु विकूको सदस्य रहेका कारण संस्थाबारे जानकार पनि रहेको र यो उत्कृष्ट सहकारीका रुपमा रहेको व्याख्या गर्दै सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले यो खालको उपलब्धि हासिल गर्न सकेको बताए ।
विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको व्यावसायिक योजना अनुसार सामाजिक रुपान्तरणका क्षेत्रमा अब विकूले काम गर्ने बताए । कार्यक्रममा जनप्रतिनिधि, विजय परिवारका सदस्य संस्थाका प्रतिनिधि, विकूका संस्थापकहरु, पूर्व सञ्चालक समिति, उप समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु लगायत सहभागी थिए ।
त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी सिन्धु सुवेदी, प्रीया सिं ठकुरी, अर्जुन कंडेल, लक्ष्मी थापा राना, ओमबहादुर थनेत, उत्कृष्ट ईन्चार्ज सुरजबहादुर लौडारी, उत्कृष्ट विभागीय प्रमुख मदन सापकोटा, उत्कृष्ट सेवा केन्द्र नवजागरण सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उप समिति नवजागरण सेवा केन्द्र र उत्कृष्ट सिक्स एस मूल्याङ्कनमा पूजा सेवा केन्द्रलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव अन्तर्गत विकूले यसअघि हाजिरीजवाफ प्रतियोगिता, पूर्ण विकू सदस्य वडा घोषणा, रक्तदान कार्यक्रम गरेको थियो ।
२०४८ सालमा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब एक लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।