© २०२३
बुटवल, ७ भदौ ।
पाँचदिनअघि बेपत्ता भएका बुटवलका औषधि व्यवसायी गंगा ढकाल अझै फेला परेका छैनन् । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गर्दै आएका औषधि व्यवसायी गत शनिबारदेखि सम्पर्कविहीन भएका हुन् । उनी ‘अब मलाई नखोज्नू’ भनी सन्देश पठाएर सम्पर्कविहीन भएका थिए ।
प्रहरीले दिनहुँ उनको खोजी गरेपनि फेला पार्न सकेको छैन । शनिबार घरबाट हिँडेपछि सम्पर्कविहीन भएका ५३ वर्षीय ढकाल सोही दिन चितवनको नारायणगढस्थित एक होटलमा बास बसेको खुले पनि त्यसपछि उनी कहाँ गए भन्नेबारे पत्ता नलागेको परिवारले जनाएको छ ।
मोबाइल र घडीसमेत घरमा छाडेर हिँडेका ढकाल सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेको थियो । ढकाल आइतबार साँझ सवा ७ बजे पछिल्लो पटक नारायणी नदीमा देखिएको गैंडाकोट प्रहरीले सूचनाका आधारमा जानकारी पाइएको जनाएको छ । त्यही समय पुलबाट एक जनाले हामफालेको सूचना प्रहरीमा पुगेको थियो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका वरिष्ठ प्रहरी नायव निरीक्षक मोहन थापाका अनुसार सूचना पाउनासाथ टोली नारायणी किनारमा पुगी अबेरसम्मै खोजेको थियो । नारायणी नदीमा खोजतलास गर्नका लागि सशस्त्रको ¥याफ्टिङ टोली नै आउनुपर्ने भएकाले प्रहरी चौकीमा गएका ढकालका आफन्तीलाई टोली परिचालन गर्नका लागि गृहमन्त्रालयमार्फत अनुमति पत्र ल्याउन सुझाव दिइएको छ ।
आफूहरू पुग्न मिल्ने किनारसम्म पुगेर खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । १२ वर्ष सम्म औषधिमै काम गरेको अनुभव पछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए ।
७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो ।