© २०२३
काठमाडौं, ७ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकृतको सरुवाप्रति सत्तारुढ नेपाली कांग्रेसका सात जना नेताले आपत्ति जनाएका छन् ।
भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमा गम्भीर प्रश्न उठेको उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।
१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी डा. मनोज केसीको सरुवा गरेको थियो । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेको छ ।
नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु मधु आचार्य, डा. गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरत बहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर प्रहरी सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल सुधार नहुनुमा अनियन्त्रित भ्रष्टाचार भएको उनीहरुको निष्कर्ष छ ।
अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड तथा क्विन्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाइ सरकारले तार्किक निष्कर्षमा पु¥याउनु पर्छ– विज्ञप्तिमा भनिएको छ । भ्रष्टाचारका घटनाहरुको छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता मान्य नहुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।