© २०२३
बुटवल,६ भदौ । बुटवल उपमहानगरपालिका – १९ मनोहरापुरमा ४० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको दुई थारु परिवारलाई जमिन्दारका छोरी र नातिनीहरुको परिवारले अन्यायपुर्वक लखेट्ने प्रयास गरेका छन् ।
बुटवलका स्वर्गीय अमरदीप मल्लको जग्गामा ०३८ सालदेखि जोतभोग गर्दै आएका केउली थारु र सुधन थारुको परिवारलाई वर्षौंसम्म काम गरेवापत मोहियानी हक अनुसार बसोबास गर्दै आएको उक्त जग्गा दिनुपर्नेमा मानवीयता र प्राकृतिक न्यायलाई बिर्सेर घर न घाटको बनाउन खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन् । तत्कालीन जमिन्दार अमरदीप मल्लको घरमा ४० वर्ष भन्दा अघिदेखि कमैयाको रुपमा काम गर्दै आएका थारुको परिवारलाई अमरदीपकी नातिनी (आगमदेवीकी छोरी) अंगिला सिंह लगायतले घरबारबिहीन बनाउन थालेका हुन् ।
डोजर लगाएर बास भत्काइदिएपछि केउली थारुको परिवार अहिले सोही ठाउँमा लामो समयदेखि बन्द रहेको जग्गाधनीको घरको पेटीमा रात बिताउन वाध्य छन् । थारु परिवारले जग्गाा जोतभोग मात्र होइन वर्षौदेखि जमिन्दारको छोरी अगमदेवीको घरमा काम गर्दै आएका छन् । तर, काम गरेबापतको पारिश्रमिक लिएका छैनन् । यी थारू परिवारले ४१ वर्ष अघिदेखि अधिया र मोहियानीको सर्तमा जग्गा कमाउँदै आए । उनीहरुले करिब १० विघा भन्दा बढी जमिन मोहीबापत जोतेका छन् । मोहीबापतको जमिन जोत्दा जमिनदारकोमा गएर उनीहरुले बिनाज्यालामा काम गरे ।
मुख्य जमिन्दार अमरदीप (स्वर्गीय) का छोरा छैनन् । अमरदीपका छोरी आगमदेवीका श्रीमान भरत सिंहले थारु परिवारलाई बसोबास गर्दै आएको ठाउंमा जग्गा दिने वचन दिएर किलो समेत गाडिदिएका थिए । तर उनको पनि मृत्यु भएपछि अंगिलाले केउली थारुको परिवार ४० वर्षदेखि बसोबास गर्दै आएको झुपडी भत्काइदिएर बेघरबार बनाइदिएकी छन् । केउलीसंगै सुधन थारुको परिवार पनि बेघरबार हुने अवस्थामा छ ।
केउलीका ससुरा रामचरण र केउलीका श्रीमान पूर्णवासी थारुले समेत सोही जग्गामा जोतभोग गर्दै आएका स्थानीय तिलकबहादुर थारुले बताए ।
‘म जान्ने हुंदा केउलीको ससुराको पालादेखि उनीहरु यहीँ बस्दै आएका छन्, उनीहरुको नाममा एक अन्त कतै एक टुक्रा जमिन छैन’ तिलकबहादुर थारुले भने–‘केउलीको ससुरा जस्तै काम गर्ने सुवास गनी मुसलमानलाई जमिन्दारले १० धुर जग्गा दिएका थिए,उसले घर पनि बनाएर बेचेर गयो,तर यिनीहरु आफ्नो हक अधिकारबारे कुरा राख्न नसक्ने ज्यादै सोझा भएकाले जग्गा नपाएका हुन् । ’
रातीमा प्रहरीसँग आएर धम्की दिएपछि असुरक्षा भएको भन्दै न्याय दिन केउली र सुधनका परिवारले टोलका अगुवा, राजनीतिक दलका प्रतिनिधी र वडा कार्यालयमा पटक पटक धाएका छन् । तर आफ्नो मागलाई कसैले गम्भीर रुपमा नलिएको उनीहरुको दुःखेसो छ ।
अंगिलाले कार्यक्षेत्र बाहिरका आफू निकटका प्रहरीलाई दुरुपयोग गर्दै केउली थारुको परिवारलाई धम्काउन तर्साउन लगाएको स्थानीय सीता रानाले बताइन् ।
‘कानुन र मानवीयताको हिसाबले पनि यतिका वर्ष जोतभोग काम गरेर बसेको जग्गामा कमसेकम बास बस्ने जग्गा दिनुपर्ने हो तर निमुखा देखेर थारु परिवारमाथि अंगिलाहरुले ज्यादती गरेका छन्, आफू नजिकका प्रहरीलाई ल्याएर ठाउं छाड्न दवाव दिएका छन् यस्तो गैरकानुनी कामको छानवीन हुनुपर्छ,केउली र सुधनको परिवारले न्याय पाउनुपर्छ ।’
लामो समय जग्गाको जोतभोग र रेखदेख गर्दै आएका थारु परिवारलाई जमिन्दारका छोरी ज्वाई भरतसिंहले बस्ने बासका लागि जग्गा नामसारी गरेर दिने बचन दिँदै आएका थिए । केउलीका चार जनाको परिवार पनि बस्ने बास नखोसिनेमा ढुक्क थिए । तर, दुईवर्षअघि भरत सिंहको निधन भएपछि परिवारले बोली फेरे । भरतकी श्रीमती अगमदेवीले छोरी अंगीला र ज्वाइँलाई लगाएर आफुहरुको बास भत्काइदिएको उनीहरुको गुनासो छ ।
‘मेरा ससुरा र श्रीमानले यही जग्गा जोत्दाजोत्दै वित्नुभयो, अन्त कतै एक टुक्रा जमिन छैन अब कहां गएर बस्ने ? ’ –केउलीले रुंदै भनिन् –‘हामी निमुखाको पक्षमा बोलिदिने कोही भएन ।’ अहिले मजदुरी गरेर गुजारा गर्दै आएकी केउलीका दुई छोरा र एक छोरी छन् ।
बस्ने बास भत्किएपछि केउलीलाई उमेर पुगेकी छोरी संगिताको निकै चिन्ता छ । जग्गाधनीले जहाँ भएपनि झुपडी बनाउन मिल्ने जमिन दिनुपर्ने केउली र सुधनको परिवारको माग छ ।
टोल विकास संस्थाका शिबकुमार थारुले केउली र सुधनको परिवारलाई स्थायी बसोबासको व्यवस्था नमिलाई घर भत्काउनु अन्याय भएको बताउंछन् ।
सुधनका भाइ ४६ वर्षीय मणिराम २७ वर्षदेखि जग्गाधनीकै घरमा काम गर्दै आएका छन् । घरमा भांडा माझ्ने, सफाइ गर्ने लगायतका काम गर्दै आएपनि सुधनको परिवारले पारिश्रमिक लिएको छैन । शिक्षाको अभावमा राम्रोसँग बोल्न नसक्ने भएकाले सोझोपनको फाइदा उठाएर अगमदेवीको परिवारले थारु परिवारलाई जग्गा दिन नखोजेको स्थानीय बताउंछन् ।
वडाले चासो नदिएपछि थारु परिवारले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिका उजुरी दिएकी थिइन् । तर उक्त उजुरीबारे छलफलै नगराइएको केउलीकी छोरी संगिताले गुनासो गरिन् ।
बुटवल १९ का वडाध्यक्ष चन्द्रसिंह थापाले केउली र सुधन थारु परिवार ४० वर्ष भन्दा बढी समयदेखि अगमदेवीको नाममा रहेको जग्गामा बसोबास र जोतभोग गर्दै आएको प्रमाण देखिएकाले दुबै परिवारलाई कम्तीमा बास बस्ने जग्गा जमिन्दारको परिवारले दिनुपर्नेमा वडा कार्यालय स्पष्ट रहेको बताए । ‘उनीहरुलाई बेघरबार बनाउन संविधानले पनि मिल्दैन,बास बस्ने जग्गा दिनैपर्छ अन्याय गर्नुहुन्न भन्नेमा हामी स्पष्ट छौं’–वडाध्यक्ष थापाले भने–‘जग्गाधनीले जबरजस्ती गरे चौकिल्ला प्रमाणित देखि अन्य सिफारिशमा वडाले रोक्नसक्छ ।’
वडा सदस्य लक्ष्मी थारु र शेरबहादुर थापाले पनि केउली र सुधन थारुलाई न्याय दिनुपर्ने भन्दै अन्याय हुने गतिविधि भए स्थानीयले कडा प्रतिकार गर्ने बताए ।
थारु परिवारलाई जबरजस्ती हटाउन भूमिका खेलेकी अंगिलाले यस विषयमा प्रश्न गर्दा यस्ता विषयमा समाचार नलेख्न धम्कीको भाषामा सुझाइन् । उनले थारु परिवार पहिला हरुवा बसेका तर अहिले उनीहरुको काम पनि छैन, हामीले जग्गा दिन पनि सक्दैनौ भनिन् । उनले आफूले मिडियाका लगानीकर्ताहरुलाई चिनेकाले उनीहरुसंगै कुरा गरेर समाचार रोक्ने धम्की समेत दिइन् ।
नेपालको संविधान २०७२ को भाग ३ धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । तर आफ्नो हक खोज्न नसक्ने केउली र सुधन थारु जस्ता मोहीलाई उक्त हकबाट वञ्चित गरियो । यी दुई थारु परिवारको बस्ने बासको हकको पक्षमा यतिका धेरै राजनीतिक दलहरु कसैलाई मतलब छैन ।
दोहोरो स्वामित्व अन्त्य गर्ने कार्यक्रमले मोहीको स्वामित्वमा जमिन दिन नसकेको बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले बताए । ‘अधिया र मोहियानी सर्तमा कमाउँदै आएको जग्गाका बारे कानुन स्पष्ट छैन तर स्थानीयको सर्जमिन र तथ्य प्रमाणका आधारमा कसैलाई अधिकारबाट बञ्चित गर्न प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधानको मौलिक हकको प्रावधानले मिल्दैन’–गौडेलले भने ।