© २०२३
काठमाडौं, ५ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको बताएका छन् ।
नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले जनताको वहुदलीय जनवाद (जबज) पनि छाड्न नसकिने उल्लेख गरेका छन् ।
उनले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन जोगाउनुपर्नेमा जोड दिएका छन् ।
स्मरणीय छ गठबन्धन नभएको भए नेकपा एसले स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभामा एउटा सिट पनि एक्लै जित्ने अवस्था नरहेको चुनावी परिणामले पुष्टी गरेको छ । सोही कारण पार्टीको अस्तित्व रक्षाका लागि नेपालले गठबन्धन र मोर्चा विना एक्लै अघि बढ्न नसक्ने बताएका हुन् ।
राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको जिकिर गर्दै एमाले र नेकपा एसबीच के फरक छ भन्ने विषयलाई समेत बुँदागतरुपमा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिहरूले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन् । जबकि झलनाथ खनाल र घनश्याम भुसाललगायतका नेता जबजको चरण समाप्त भएको बताइरहेका छन् ।