© २०२३
बुटवल, ३ भदौ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सर्वसाधारणलाई लक्षित गर्दै बुटवलको ट्राफिक चोकमा बृहत आँखा शिविर कार्यक्रम गरेको छ ।
नागरिकसँग पार्टीलाई जोड्न र उनीहरुको स्वास्थ्य समस्या पार्टीको जिम्मेवारी भएको महशुस गर्दै आँखा शिविर गरिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।
शिविरको उदघाटन एमाले पोलिटब्यूरो सदस्य एवं उपमहानगर कमिटी इन्चार्ज दधिराम न्यौपानेले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले नागरिकका हरेक सुख दुखमा एमाले साथ रहेको भन्दै अहिलेको समय आँखा पाक्ने रोकको प्रकोप समेत बढिरहेकाले सर्वसाधारणलाई लक्षित गर्दै आँखा शिविर गरिएको बताए ।
उनले यस्ता सामाजिक, मानवीय र रचनात्मक कार्यलाई एमालेले निरन्तरता दिंदै जाने बताए । शिविरमा ३८३ जना सहभागी भएकोमा २६८ जनाले आँखा जाँच गराएका नगर कमिटी उपाध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।
शिविरमा लुम्बिनी रणअम्बिका शाह आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. बिनिता भट्टराईको नेतृत्वमा टंक गैरे र प्रभात जीसीले आंखा चेकजांच गरी औषधि र आवश्यक परामर्श दिएका नगर सचिव मेघराज भट्टराईले जानकारी दिए ।
आँखामा समस्या भएकाहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । एमालेले उपमहानगरका विभिन्न टोलहरुमा पनि स्वास्थ्य शिविरहरु आयोजना गरिरहेको छ । विभिन्न शाखा कमिटीहरुले सर्वसाधारणको समस्यामा पार्टीपंक्ति साथमा छ भन्ने सन्देश दिन यस्ता कार्यक्रम गरिरहेको नगर कमिटीले आगामी दिनमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा निरन्तर काम गर्ने सचिव भट्टराईले बताए ।