© २०२३
काठमाडौं, ३२ साउन ।
ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ।
भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।
कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १०.८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमशः १०.५० प्रतिशत, १०.४९ प्रतिशत, १०.४० प्रतिशत, र १०/१० प्रतिशत तोकेका छन् ।
बाँकी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९२ प्रतिशत ब्याजदर तोेकेको छ । यसअघि साउन महिनाका लागि बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।
प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार बैंकहरुले अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् ।