© २०२३
सल्यान, ३१ साउन ।
सल्यानमा फेला परेको एक पुरुषको शव पहिचान हुन सकेको छैन । जिल्लाको त्रिवेणी गाउँपालिका–१ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधबार पुरुषको शव भेटिएको हो ।
यो समाचार तयार गर्दा सम्म शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । शव गल्न थालिसकेकाले केही दिन पहिले नै पुरुषका मृत्यु भएको हुन सक्ने उनको भनाई छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोलीले अनुसन्धान गरिरहेको छ । शव पहिचानका लागि आवश्यक भइरहेको प्रहरीले जनाएको छ ।
अटो दुर्घटनामा घटनास्थलमै महिलाको मृत्यु
यसैबीच सल्यानको त्रिवेणी गाउँपालिकामा नै अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो साढे चार बजेतिर त्रिवेणी गाउँपालिका वडा नम्बर ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना भएको सल्यान प्रहरीले जनाएको छ ।
लुहाम बजारबाट ढोरचौर गाउँतर्फ गैरहेको अटो उकालो चढ्न नसकी पछाडी आई सडकदेखि करिव १५० मिटर तल खसेर दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका ४ अक्कासी बस्ने ५१ वर्षीया ठगी कामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा अटो चालक राम बहादुर बुढाथोकी सहित अटोमा सवार अन्य दुई यात्रु घाइते छन् । घाइते यात्रुलाई उपचारको लागि लुहाम पठाइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।