© २०२३
काठमाडौं,२८ साउन । १०० केजी सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय समिति बनाउन तयार नभए सरकारको समर्थन फिर्ता लिनुपर्ने कुरा नेपाली कांग्रेस संसदीय दलको बैठकमा उठेको छ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले १०० केजी सुन विमानस्थल प्रहरी र अध्यागमन प्रशासन र भन्सार विभागको मिलेमतोबिना आउनै नसक्ने बताएका छन्।
‘अध्यागमन प्रशसन, भन्सार विभाग र सुरक्षा संयन्त्र नमिलाई त्यो सुन आउनै सक्दैन,उच्चस्तरीय छानबिनमा तयार नहुँदा राजनीतिक नेतृत्वमाथि पनि शंका सोझिएको नेता पौडेलले बताए ।
सांसद पौडेलले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार हुनुपर्ने बताए।
‘हामीले यसको छानबिन हुनुपर्छ, चर्चित सबै घटनाको छानबिन हुनुपर्छ भनेका छौँ। सबै घटनाको छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ– उनले भने–यदि प्रधानमन्त्रीले उच्चस्तरीय समिति बनाउन मानेनन् भने कांग्रेसले सरकारको समर्थन फिर्ता लिनुपर्छ। संसदीय दलले निर्णय गर्नुपर्छ। यदि प्रमले मानेनन् भने सरकारको समर्थन फिर्ता लिनुपर्छ। सरकार निर्मम छ भ्रष्टाचारमा कसैलाई छाड्दैन भन्ने म्यासेज दिनुपर्छ।’
पौडेलका अनुसार शुक्रबार र आइतबार बोलेका अधिकांश कांग्रेस सांसदहरुले उच्चस्तरीय छानबिन गठन गर्ने निर्णयतिर पार्टी जानुपर्ने बताएका थिए।