© २०२३
बुटवल,२६ साउन । लायन्स क्लब अफ बटौलीले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा नवग्रह बाटिका (उद्यान) बनाउने भएको छ । क्लबले अस्पतालमा सेवा लिन आउने विरामी र उनीहरुका आफन्तहरु स्वच्छ वातावरणसहित शीतल छहारीमा विश्राम गर्न पाउन् भन्ने उद्देश्यले नयां इमर्जेन्सी भवन अगाडि करिब ५ लाख रुपैयां लागतमा बाटिका बनाउन लागेको हो । उक्त बाटिकाको शुक्रबार एक कार्यक्रमबीच लायन्स अन्तर्राष्ट्रियका इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका गभर्नर अर्जुनमान सैंजूले संयुक्तरुपमा शिलान्याश गरेका छन् ।
सो अवसरमा बोल्दै बुर्लाकोटीले उद्यानलाई नमूना बनाउन सुझाव दिंदै यो बनेपछि विरामी र उनीहरुका आफन्तहरुले स्वच्छ वातावरणमा विश्राम गर्न पाउने बताए । उनले उक्त बाटिकासंगै अस्पतालमा आर्थिक अभावमा उपचारबाट बन्चित हुने अवस्थाका विरामीलाई पनि सहयोग गर्नेतर्फ क्लबको ध्यान जानुपर्ने सुझाव दिए । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका गभर्नर अर्जुनमान सैंजूले लायन्स क्लब अफ बटौलीले अस्पताल परिसरमा उद्यान बनाउनु नौलो र रचनात्मक काम भएको बताउंदै डिस्ट्रिक्टले सक्ददो सहयोग र सहकार्य गर्ने बताए ।
क्लबका अध्यक्ष लक्ष्मण भट्टराईले लायन्स बटौली नवग्रह बाटिकामा विश्रामका लागि ९ वटा बेन्च राखिने र अक्सिजनयुक्त विरुवाहरु रोपेर हरियालीयुक्त बनाइने बताए ।
सन् २०१७ मा स्थापना भएको क्लबले वर्ष २०२३/२४ मा ‘दृष्टि नै संसार हो’ थिम अनुसार आंखा दानका लागि सम्बन्धित अस्पतालहरुसंगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम र फारम भर्ने कामलाई प्राथमिकतामा राखेको बताए । यस वाहेक मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम,बृक्षारोपण,सरसफाई,फण्ड राइजिङका लागि कन्सर्ट,विद्यार्थीलाई सहयोग गर्न विद्यालय भिजिट लगायतका कार्यक्रमहरु चालु लायन वर्षमा सम्पन्न गर्ने जानकारी गराए ।
कार्यक्रममा संस्थापक अध्यक्ष विनित भट्टराई,पुर्व अध्यक्ष लोकप्रसाद भण्डारीले सामाजिक सेवाको कार्यमा सबै निस्वार्थ भावनाले लाग्नुपर्नेमा जोड दिएका थिए ।