© २०२३
काठमाडौं, २५ साउन । मन्त्रिपरिषद्बाट यही साउन १६ गते स्वीकृत भएको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी विद्यालयसम्बन्धी प्रस्तावमा विरोध जनाउंदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन एन प्याब्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसानले विरोध प्रदर्शन गरेको छ।
मस्यौदाप्रति असहमति जनाउँदै काठमाडौँको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
विधेयकमा भएका निजी शिक्षालयका संस्थाहरुले मस्यौदा संशोधन गराउन यही साउन २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो।
विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायतका व्यवस्था गरेकामा ती संस्थाको आपत्ति रहेको छ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले वडाध्यक्षहरुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राख्ने प्रस्ताव लोकतान्त्रिक नभएको उल्लेख गरेको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले भने दरबन्दीसरह सेवासुविधा हुने गरी सम्बोधनको प्रयास गरिएको जनाएको छ।