© २०२३
बुटवल,२४ साउन । पहिरो झरेको ठाउंमा सरकारी सुरक्षा निकाय जस्तै बाकिटाकी बोकेर चुनाव चिन्ह अंकित ज्याकेट लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएको ठाउँमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता देखिएपछि वाकीटाकी दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।
मंगलबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित र्यापिड एक्सन टिम पनि लेखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले फोटो खिचेर पहिरो पन्छाउन र जाममा परेका सवारी साधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको भनेर प्रचार गरेका थिए । त्यसपछि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै पहिरो पन्छाउने वा जाम हटाउने विषयमा रास्वपाका कार्यकर्ताले कुनै भूमिका नखेलेको जानकारी दिएका छन् ।
प्रजिअ पौडेलले जारी गरेको सूचनामा कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौं भनेर स्वीकृती समेत नलिएको उल्लेख छ । पहिरो पन्छाउन राज्यकै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी ट्राफिक व्यवस्थापनसमेत गरिएको सूचनामा उल्लेख छ ।
साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचय विना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ ।