© २०२३
कपिलवस्तु,२४ साउन । आंखा पाक्ने रोग आई फ्लुको संक्रमण बढदै गए पछि कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रका स्वास्थ्य संस्थाबाट औषधी निशुल्क बितरण शुरु गरेकोछ । कपिलवस्तु नगरपालिकाको ७ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र १ वटा नगर स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्थाबाट निशुल्क औषधी बितरण शुरु गरिएको हो । नगर स्वास्थ्य शाखामा भण्डार गरिएको ३ हजारको संख्यामा रहेको सिप्रो आई ड्रप, सिप्रो मलहम र टेट्रा साईक्लिन मलहम नगरका सबै स्वास्थ्य संस्थामा निशुल्क बितरण गर्नका लागि पठाईएको नगर स्वास्थ्य शाखाका प्रमुख उमेश गुप्ताले जानकारी दिए । यसै बिच मंगलबार बसेको नगर कार्य पालिकाको आकस्मिक बैठकले थप ८ हजार थान आईड्रप खरिद गरी निशुल्क बितरण गर्ने निर्णय गरेको छ । कार्य पालिकाको बैठकको निर्णय अनुसार थप ८ हजारको संख्यामा आईड्रप खरिद गरि तत्कालै सबै स्वास्थ्य संस्थामा पुराइने गुप्ताले जनाए । आँखा पाक्ने रोग महामारीको रुपमा फैलिन थाले पछि नगरले निशुल्क रुपमा औषधी बितरणका लागी भण्डारण गरिएका औषधी स्वास्थ्य संस्थामा पठाउने र आवश्यक पर्ने ८ हजार थान आई ड्रप खरिद गर्ने कार्य पालिका बैठकबाट निर्णय गरेको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।