© २०२३
चन्द्रौटा(कपिलवस्तु), २३ साउन ।
भारतको पंजाबबाट १६ बर्षीय एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी सुहाना कार्की (परिवर्तित नाम) लाई मंगलबार उद्धार गरि नेपाल ल्याइएको शान्ति पुनस्र्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पंजाबको लुधियानामा सुहाना अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तुले जनाएको छ । गृहमा उनलाई सुरक्षित राखिएको कृष्णनगरकी संयोजक बसन्ती जिसीले बताईन । रोजगारीको प्रलोभनमा परेर पंजाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाई छ । मानव बेचबिखनका घटना न्यूनीकरण गर्न सदैब तयार रहेको उनले जिकिर गरिन् ।
गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार कार्की २०७९ मंसिरमा घरबाट हराएकी थिइन । गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएकी जनाइएको छ । आर्थिक अवस्था कमोजर भएका कारण उनको परिवारले सुहानालाई घर फर्काउन आग्रह गरेको थियो । भारतमा आफ्नो कोहि नभएकोले रोजगारीको प्रलोभनमा परेर गएको हुन सक्ने भन्दै फर्काउन सम्बन्धित निकायमा करिब ७ महिनादेखि धाउने गरेका थिए । आफ्नो अथक प्रयास र प्रहरी प्रशासन लगायतको समन्वयमा उनलाई नेपाल फर्काउन सफल भएको संयोजक भट्टराईको दाबी छ । उनलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको बताउँदे उक्त घटनाबारे थप अनुसन्धान भइरहेको शान्ति पुनस्र्थापना गृहले जनाएको छ ।