© २०२३
बुटवल, २३ साउन ।
एकतर्फी संचालनमा आएको सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा लेदो र ढुंगामाटो सहितको पहिरो खसेपछि राजमार्ग पुनः अवरुद्ध भएको हो । बिहान साढे ४ देखि अवरुद्ध भएर १० बजे राजमार्ग संचालनमा आएको थियो ।
राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । लेदोसहितको पहिरो पन्छाउन वर्षा भइरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दु निर्माण गरेको स्थानमा पहिरो खसेर केही दिनयता राजमार्ग अवरुद्ध हुने र खुल्ने गरेको छ । यहाँ साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी छ ।
चाइना स्टेट कन्स्ट्रक्सनले पानी रोकिनासाथ ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रहरीले जनाएको छ । वर्षाले सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दु रिब पोर्टलको माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ ।
राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङसम्मका सवारी साधन संचालन हुन्छ ।