© २०२३
बुटवल,२३ साउन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा ३ खरखरेमा बसको ठक्करबाट १० वटा गाईगोरु मरेका छन्।
काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको थियो । मङ्गलवार राति अन्दाजी २ बजे भएको घटनाबाट ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।
बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चारवटा गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ। बसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ। मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाडिएको प्रहरीले जनाएको छ। कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम रहेको छ।