© २०२३
बुटवल, २२ साउन ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय हितभन्दा बाह्य शक्तिको हितमा लाग्दा देशमा अस्थिरता पैदा भएको बताएका छन् । उनले प्रधानमन्त्री आफ्नो कुर्सी बचाउनका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुँदा देशमा विभिन्न खाले संकट पैदा भएको बताए ।
लुम्बिनी प्रदेशको पार्टी स्कुल विभागले सोमबारदेखि दाङको देउखुरीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता ज्ञवालीले मुलुकको समाधान र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यो एमालेबाट मात्र सम्भव भएको दाबी गरे ।
‘अहिले मुलुकमा सरकारकै अराजक गतिविधि बढेको छ, प्रधानमन्त्री राष्ट्रिय हितभन्दा बाह्य शक्तिको हितमा हुनुहुन्छ, कसरी आफ्नो कुर्सीको खुट्टा बलियो बनाउने भन्दै हुनुहुन्छ,’ उनले भने, ‘देशको विकासको विषयमा सोच्नुपर्ने बेलामा प्रधानमन्त्री हरेक बिहान उठ्दाखेरि, साँझ सुत्दाखेरि कतैबाट आरा लाग्यो कि, कतैबाट मुसाले खाइदियो कि भनेर गन्नुपर्ने अवस्था छ ।’
६/७ वटा पार्टी नमिलेसम्म सरकार बन्न नसक्ने गरी छरिएर आएको जनमतले प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर नभई आफ्नो कुर्सीको खुट्टातिर मात्रै रहेकाले मुलुकमा संकट उत्पन्न भएको उनले दाबी गरे ।
देशको विकास र हितका लागि राजनीतिक स्थायित्वको जगमा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो एमालेबाट मात्र सम्भव भएको उनको दाबी थियो । एमालले नयाँ ढंगबाट संगठन निर्माण र त्यही संगठनमा स्कुल विभागले विचार प्रवाह गरेर एमालेको अझै बलियो र शक्तिशाली जग निर्माण गर्ने गरी अभियान सुरु गरेको उनले बताए ।