© २०२३
बुटवल, २२ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । त्यसैले थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएको थियो । आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो मुद्दामा सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।