© २०२३
बुटवल, २२ साउन । बुटवलका उद्योगी तथा खेलकुदप्रेमी वोनिन पिया बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा मनोनित भएका छन । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन ।
सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टन खेलमा आवद्ध भई योगदान दिएका पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवल नगरलाई खेलकुदमार्फत परिचित गराउने गरि लाग्न आग्रह गरे । खेलाडी उत्पादनको आधार विद्यालय खेलकुद भएको भन्दै उनले चालु आर्थिक वर्षमा नगरभित्रका विद्यालयस्तरीय प्रशिक्षण र प्रतियोगितालाई जोड दिनुपर्ने बताए ।
नवनियुक्त संयोजक पियाले बुटवललाई खेल क्षेत्रमा अग्रणी नगर बनाउनका लागि यहाँका खेलाडी, प्रशिक्षक, क्लब र संघसंस्थाहरुलाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । बुटवलका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेमात्र नभई खेल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत जोड दिए बताए । ‘खेलाडी उत्पादनका लागि विद्यालय र कलेजस्तरबाटै लगानी बढाउन जरुरी रहेको छ ।’—उनले भने । यसअघिको समितिबाट नगर भित्रका खेलकुद मैदानहरुको लगत निकाल्ने र करीब ३९ वटा पुर्वाधार भएको तथ्याक समेत आएको छ ।