© २०२३
काठमाण्डौ, २२ साउन । काठमाण्डौमा जारी पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा राजेन्द्र शाक्य र रिसभ चुरिवाल दोस्रो चरणमा प्रवेश गरेका छन् । धनलक्ष्मी महर्जन फाउन्डेसनको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास संघको हलमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पुरुष एकलमा राजेन्द्रले अश्विन तोडीबाट वाकओभर प्राप्त गर्दा रिसभले शैलेश अमात्यलाई ११–०, ११–२ र ११–७ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन् । त्यस्तै प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पनि पहिलो दिन सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । निशान्तले अजय सिंह र धीरुले अजित के. सिंहलाई हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान बनाए ।
त्यस्तै निशान्त र धीरुले समान ११–५, ११–५, ११–६ को स्कोरमा जित निकाले । रत्नकाजीले जुनिल शाक्य (११–४, ११–२, ११–३) लाई पनि सीधा सेटमा हराए । प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुप¥यो । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ र राजकुमारले राज महर्जनलाई ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले हराए । पुरुष एकलमा शीर्ष चार वरीयता प्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।
मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंह र प्रेम सिंहले पनि पहिलो चरण पार गरेका छन् । सुरेशले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई ५–११, १०–१२, १३–११, ११–४, ११–३ को सेटमा हराए । अजयले महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ हराउँदा इन्द्रबहादुरले रत्न महर्जनमाथि ११–२, ११–४ र ११–६ को सेटमा जित निकाले । प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०–१२ र ११–२ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन् । महिला खुला र ब्वाइज यु–१९ का खेलहरु सोमबार मात्र सुरु हुनेछन् । प्रतियोगिता साउन २७ गते फाईनल हुनेछ ।