© २०२३
बुटवल,२२ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामाको नियुक्तिलाई लिएर माओवादीका केन्द्रदेखि जिल्ला तहका नेताहरुले तीब्र असन्तुष्टी जनायरहेका छन् । माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै पार्टी नेतृत्वको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।
न्यौपानेले कटाक्ष गर्दै लुम्बिनीबाट रूपान्तरण अभियानको उद्घाटन सुरु भएको टिप्पणी गरेका छन् ।
‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर, बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसके छ’–न्यौपानेले लेखेका छन् ।
माओवादीको पाँच दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले जनतासँग माओवादी रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय लिएको थियो । उक्त अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गर्ने भनिएको छ ।
रूपान्तरण अभियान घोषणा भएकै दिन माओवादी नेतृत्वको सरकारले लुम्बिनी विकास कोषमा डा। लामालाई नियुक्त गर्ने निर्णय लिएको थियो । यसप्रति न्यौपानेले कटाक्ष गरेका हुन् ।
माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले लामाको नियुक्तिले माओवादी रुपान्तरण अभियानको नारा के कति वैज्ञानिक निर्णय भयो भनी असन्तुष्टीसहित प्रश्न गरेका छन् । यस विषयमा जवाफ लिएर आउन आग्रह गरेका छन् । लामा दोहोरो नागरिकता, अकुत समपत्ति आर्जन, हातहतियार लगायत विभिन्न काण्डमा मुछिएका विवादित व्यक्ति हुन् । माओवादी निकट पत्रकार खिलबहादुर भण्डारीले पनि लामाको नियुक्ति गलत भएको टिप्पणी गरेका छन् । भण्डारीले ब्यङग्य गर्दै फेसबुकमा लेखेका छन् – ‘मिटिङबाट पार्टी सारै सच्चिएछ,यस्तो क्षमतावान मान्छेलाई हो नियुक्ति दिने । बजाम दलालहरू ताली ।’