© २०२३
काठमाडौँ, २१ साउन ।
काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। घटनामा आमा घाइते भएकी छन्।
तारकेश्वर नगरपालिका–५ चो गाउँमा गएराति स्थानीय गणेश तामाङको एकतले जस्ताले छाएको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमुली ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
घटनामा तामाङकी पत्नी ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन्।
‘उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ,’ डीएसपी कुँवरले भने, ‘पहिरोले घर पुरिँदा बाबुको घटनास्थलमै र छोरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमै मृत्यु भएको हो।’
घटनाको खबर पाउनासाथ बालाजु बृत्तबाट डीएसपी कुँवरको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेलाई उद्दार गरी अस्पताल पुर्याएको थियो।
घरमा चार जना बस्दै आएका भएपनि तामाङ दम्पतीका छोरा घर बाहिर रहेकाले जोगिएका छन्।