Butwal Today

राष्ट्रिय युवा संघ नेपाल शारदा नगरमा नयाँ नेतृत्व

२० श्रावण २०८०, शनिबार
अ+
अ-

सल्यान, २० साउन ।

सल्यानको शारदा नगरपालिकामा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ कमिटी निर्माण गरिएको छ । शनिबार श्रीनगरमा सम्पन्न तेश्रो अधिवेशनले ललित चलाउने अध्यक्ष रहेको ३१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, शारदा नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा समीर गिरि, उपसचिवमा टोपेन्द्र बुढा र रोशन बिष्ट तथा कोषाध्यक्षमा अनिता वली रहेका छन् ।

सिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्य कुल बहादुर गिरीले राजनीतिमा युवाहरुको सक्रियताले मात्रै समाज रुपान्तरण सम्भव रहेको बताए । उनले राष्ट्र हितको पक्षमा रहने एकमात्र पार्टी नेकपा एमाले भएको बताउदै यो पार्टीलाई शसक्त र बलियो बनाउनुपर्नेमा जोड दिए ।

यस्तै एमाले प्रदेश कमिटी सदस्य महेश देवकोटा, एमाले सल्यानका सचिव तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रुपक बुढा, जिल्ला कमिटी सदस्य खड्ग शाही, एमाले शारदा नगर कमिटी अध्यक्ष मधुसुदन शर्मा, राष्ट्रिय युवा संघ प्रदेश सदस्य डिल्ली राज खड्का, संघका जिल्ला उपसचिव दिलिप रावत, शारदा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बुढा लगायतले मन्तव्य राख्दै एमालेप्रति आम नागरिकको विश्वासलाई अझै बढाउँदै लैजानुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्रविण घर्तीले गरेका थिए ।