© २०२३
बुटवल, २० साउन ।
युवादेखि वृद्धसम्म सबैजसो उमेर समूहमा ब्याडमिन्टन खेल आकर्षणमा पर्छ । हिमालदेखि तराईसम्म देशभर सबैजसो भागमा यो खेल खेलिन्छ । तर यही खेलको नेपालमा भने केवल पाँच जनामात्र प्रशिक्षक छन् । ती पनि काठमाडौ केन्द्रित । उनीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्ने काममा ब्यस्त हुन्छन् । यता ब्याडमिन्टन खेलको विकास र खेलाडी उत्पादन गर्ने मूल लक्ष्य बोकेको ब्याडमिन्टन संघको कुनै गतिविधि नगरेको आठ वर्ष भयो । विधान अनुसार कुनै कार्यक्रम गरेको छैन ।
करिब एक दशक केन्द्र चुपचाप बन्दा यसको प्रभाव युवा खेलाडीमा परेको छ । राजनीतिक खिचातानी र लडाईले आकर्षणको खेलको न त दक्ष जनशक्ति उत्पादन हुन सकेको छ । न त ग्रासरुट लेभलका खेल विकास नै भएका छन् । सरकार र निजी क्षेत्रबाट समेत पछिल्लो दशकमा पूर्वाधार विकासमा ठुलो लगानी भएको छ । टोलटोलमा कोर्ट बनेका छन् । नगर नगरमा लाखौ रुपैयाँ लगानीमा ईन्डोर कोर्ट निर्माण भएका छन् ।
ब्याडमिन्टन खेल र खेलाडीको बारेमा अगुवाई गर्ने संस्था भने शुन्यमा छ । रुपन्देही ब्याडमिन्टन संघका अध्यक्ष महेन्द्र श्रेष्ठले देशभरमै समस्या उत्पन्न भएको दुःखेसो गरे । ‘यसले खेलाडी रेकिङ, राष्ट्रिय प्रतियोगिता आयोजनामात्र नभई खेल क्षेत्र पछि परेको छ’–उनले भने । प्रत्येक महिनाजसो धनराशीसहित प्रतियोगिता हुने र खेललाई ब्यावसायिक बनाउन सफल भएको भएपनि यसलाई अपनत्व लिने माउ संस्थाकै कारण खेल र खेलाडी पछि परेको उनको निष्कर्ष छ । मोफसलले ब्याडमिन्टन खेललाई धानेको उनको दाबी छ । ब्याडमिन्टन खेलमा नेतृत्व तहबाट नै चासो दिएर ब्याडमिन्टन प्रशिक्षक राखेर ग्रासरुटस्तरमा उत्पादन हुने गरी काम गर्नुपर्ने उनको तर्क छ । ‘अब नया दक्ष जनशक्ति तयार गर्नेतर्फ जोड दिनुपर्छ’— उनले भने ।
न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको छैटौ साधारण सभा तथा तेस्रो निर्वाचन सभाको एक समारोहका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उदघाटन गर्दै खेल विकासमा राज्यबाट निर्वाह गर्नुपर्ने काम र भूमिका निजी क्षेत्रबाट पूरा गरेको दाबी गरे । ब्याडमिन्टन खेल संभ्रान्त खेल हुँदै अहिले सर्वसाधारणको घरघरमा आएको उनले बताए । देशको ठूलो रकम स्वास्थ्यमा खर्च भैरहेको भन्दै खेलकुदमा जोडिदा यो लगानी घट्न सक्ने सम्भावना रहेको उनले औंल्याए । खेलसंगै यसको बहुआयामिक उपयोग रहेको भन्दै उनले यो पर्यटनसंग पनि जोडिएको बताए । नेपालमा खेलिने खेलमा ब्याडमिन्टन उत्कृष्ट पाँच खेलमा पर्ने उनले बताए । खेल विकास गर्न स्पष्ट राज्यको नीति, गतिविधि र पूर्वाधार मुख्य आवश्यकता पर्ने भट्टराईको तर्क छ ।
कार्यक्रममा क्लबका अध्यक्ष बोनिन पियाले १० वर्षको अवधिमा पूर्वाधारको काम सम्पन्न गर्न सफल भएको बताए । ईन्डोर खेललाई ब्यवस्थित गर्न आफुहरु सफल भएको उनले बताए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यलाई योजनावद्घ रुपमा अघि बढ्न आवश्यक रहेको उनले बताए । नियमित खेल प्रतियोगितालाई निरन्तरता दिने सोचका साथ अघि बढेको उनले बताए । मानव स्वस्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको भन्दै पछिल्लो समय ब्याडमिन्टनको क्रेज रहेको उनले बताए ।
कार्यक्रममा क्लबका उपाध्यक्ष नरेश श्रेष्ठले धेरै मेहनत र निरन्तरताबाट खेल पूर्वाधार विकास गर्न सफल भएको बताए । सामुदायिक वनबाट प्राप्त भएको साढे ४ कठ्ठा जग्गामा ८५ लाख रुपैयाँ लागतमा अत्याधुनिक कभर्ड हल निर्माण गर्न सफल भएको बताए । कार्यक्रममा शिवनगर सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष दिपेन्द्र पराजुली, संस्थापक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, क्लबका सल्लाहकार दिनेश प्रधान, बुटवल ब्याडमिन्टन क्लबका कार्यबाहक अध्यक्ष नलराज नेपाल, प्रमुख निर्वाचन अधिकृत लोक प्रसाद खरेल, खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारी, क्लबका महासचिव जिवकान्त काफ्लेलगायतले विश्व परिवेशमा सन १८७० मा पहिलोपटक शुरु भएको खेल १९ औं शताब्दीमा ब्यावसायिक रुपमा शुरु भएर नेपालमा भने १९९९ मा ब्याडमिन्टन खेल्न थालिएको बताएका थिए । स्थापना कालमा २५ जना खेलप्रेमीहरुबाट शुरु भएको क्लबमा हाल ४० जना आजीवन सदस्य छन् ।
पियाको अध्यक्षतामा नया समिति सर्वसम्मत
न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको छैटौ साधारण सभा तथा तेस्रो निर्वाचन सभाबाट बोनिन पियाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक सिह अधिकारी, उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, महासचिवमा जिवकान्त काफ्ले, सचिवमा रोहित पुरी, कोषाध्यक्षमा बासुदेव श्रेष्ठ, सहकोषाध्यक्षमा गोबिन्द श्रेष्ठ तथा सदस्यहरुमा विष्णु गैरे, उमाशंकर मालपानी, रमेश पाण्डे, विकास हमाल, खेम खाती, लिलबहादुर थापा, पवन कुमार श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बोनिन पियाले अबको आफ्नो कार्यकालमा पूर्वाधारसंगै ब्याडमिन्टनको जनशक्ति उत्पादमा जोड दिने प्रतिवद्धता जनाए ।