© २०२३
नवलपुर, १९ साउन ।
यो वर्ष ढिलो गरी सुरु भएको धान रोपाई साउन दोश्रो साता सकिंदा नवलपरासी पूर्वमा भने ९५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।
लामो खडेरीका कारण यो वर्ष समयमै पानी पर्न नसकेका कारण किसानहरुले १५ असार बाट सुुरु गरेको धान रोपाई साउनको दोश्रो साता सकिँदा सम्म ९५ प्रतिशत सकिएको कृषि ज्ञान केन्द्रका प्रमुुख गोपाल लामिछानेले बताए ।
अहिले पानी परेसंगै किसानहरु धान रोप्नमा ब्यस्त हुन थालेका छन् । कृषिमा आश्रित किसानहरु यतिबेला खेतमा रमाईरहँदा गत वर्ष साउनको पहिलो हप्तामा नै सकिएको धान रोपाई यो वर्ष भने साउन दोश्रो हप्ता सम्म ९५ प्रतिशत खेतमा धान रोपाई सकिएको प्रमुुख लामिछानेले बताए ।
पूर्वी नवलपरासीमा कुल १९ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान खेती लगाईने गरेको र आजसम्म करिब १८ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती गरिसकिएको र पानी परिरहेकाले यो वर्ष जिल्लामा ढिला भए पनि साउनको २० सम्म ९८ प्रतिशत धान रोपाई हुने अनुमान गरिएको प्रमुख लामिछानेले बताए ।
तराई र भित्री मधेशमा धेरै क्षेत्रफलमा धान रोपाई सकिएको र पहाडी क्षेत्रमा समेत अहिले ढिला गरी मूल फुट्न थालेको र साउनको २० सम्म ९८ प्रतिशत सम्म धान रोपाई सकिने लक्ष्य रहेको प्रमुख लामिछानेको भनाई छ ।
ढिला बर्षा भएसँगै अहिले धान रोपाईले तीब्रता पाउन थालेपछि यो वर्ष जिल्लामा धान उत्पादन नघट्ने र जिल्ला धानमा आत्मनिर्भर जिल्लाका रुपमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।