© २०२३
१९ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् ।
गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४ सय मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पहिरोमा परी गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर गौरीशंकर गाउँपालिका–७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी घाइते छन् । उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पहिरोले टोपाटारका तीन घर पुरिएका थिए । सो ठाउँका अरु केही घर जोखिममा रहेका छन । स्थानीय घट्टे खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि आउ–जाउ गर्न पनि खटिन भएको छ ।
फोटो रासस