© 2026
बुटवल, १८ साउन । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा नाम जोडिएका आफ्ना नेताहरुलाई सरकारले जोगाउने प्रपञ्च गरिहेको आरोप लगाएका छन् ।
पछिल्लो समय चर्चामा रहेको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको ज्ञवालीले आरोप लगाए ।
स्व. जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गर्दै उच्चस्तरीय छानवीन समिति गठन हुनुपर्ने अडान दोहो¥याए । ‘सरकारको हात सफा छैन,यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ’–ज्ञवालीले भने–‘त्यसैले सुन तस्करी प्रकरणको सही अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति बनाउनुको विकल्प छैन ।’
फरक प्रसंगमा नेता ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको टिप्पणी गर्दै मुलुकले ईतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे । ‘ईतिहासमै पहिलोपटक राजश्वले कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था सिर्जना भएको छ,निर्माण व्यवसायीको काम पूरा भएको ८० अर्ब बढी भुक्तानी दिन सकेको छैन’–नेता ज्ञवालीले भने–‘तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’ सरकारले सीमित व्यापारीलाई मात्रै पोस्न करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेको बताए ।
सरकारले सत्ता टिकाउनका लागि नेपालको असंलग्न परराष्ट्र नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको ज्ञवालीले उल्लेख गरे ।
कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै एमाले उपमहासचिव ज्ञवालीले पार्टी भित्र अराजकता देखिएको भनि चिन्ता व्यक्त गरे । यसको समाधानका लागि जिवराजको विचार अनुशरण गर्नुपर्ने बताए । नयाँ शक्तिहरुप्रति इंगित गर्दै ज्ञवालीले पछि दर्ता हुँदैमा र पछि जन्मिँदैमा नयाँ हुने नभई विचारले नयाँ हुन आवश्यक रहेको उल्लेख गरे । जिवराजको विचार र उनको जिवनीबाट पाठ सिक्दै पार्टीलाई सदृढ गरी बलियो राष्ट्रिय शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
जिवराज आश्रित प्रतिष्ठान नेपाल र नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको संयुक्त आयोजनामा ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषय विचार गोष्ठी आयोजना गरिएको थियो ।