© २०२३
बुटवल, ४ साउन । रुपन्देहीमा सम्पन्न क्यारोलिनास रुपन्देही यु १९ जुनियर स्टार क्रिकेट लिग २०७९÷८० को उपाधि ओमसतिया स्टारले हात पारेको छ । विहिबार भएको प्रतियोगिताको फाईनल खेलमा देवदह ड्रेगन्सलाई ९ बिकेटले पराजित गर्दै ओमसहितया स्टारले उपाधि चुमेको हो । उपाधिसंगै स्टारले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता देवदह भने नगद ५ हजार रुपैया, कप, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ दी सिरिज शेहजाद आलम, बेष्ट बलर सुभम खनाल र बेष्ट ब्याट्सम्यान सन्दिप यादव घोषित भए ।
स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङको निर्णय गरेको देवदहका ब्याट्सम्यानहरुले १९.५ ओभरमा सबै बिकेट गुमाएर ६१ रनका झिनो लक्ष्य खडा गरेको थियो । यसको लागि अर्पन पौडेलले २१ बलमा १७, महेश भारले १४ बलमा १० तथा सुरज खड्काले १३ बलमा १० रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न ओमसतियाका आयन खानले २ ओभरमा ३ रन खर्चेर १ मेडलसहित ३ तथा निरज मौर्याले ४.५ ओभरमा २१ रन खर्चेर समान ३ बिकेट लिए । ओमसतियाले ८.३ ओभरमा केवल एक बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । ओमसतियाका नन्दलाल चैलले नआउट रहदै २७ बलमा २८ रनको जोडे । यसैगरि आयन खानले ११ बलमा १८ तथा प्रदिप साहनीले ९ बलमा १० रनको नटआउट पारी खेले । देवदहका सुरज खड्काले ३ ओभरमा १६ रन खर्चेर १ बिकेट लिएका थिए । आयम खान खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समोराहका बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेल, स्मृति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भरत गुरुङ, बुद्ध पब्लिक स्कुलका प्रिन्सिपल कृष्ण प्रसाद गैरे, समाजसेवी गोबिन्द ठडराई, स्टार क्रिकेट एकेडेमीका डाईरेक्टर कबिता गौचन र पुर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, लाल बहादुर अधिकारीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन ।रुपन्देहीका ६ टिम बिच लिग चरणका खेल खेलाईएको थियो ।