© २०२३
बुटवल,४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका नेता बालकृष्ण खांणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बालकृष्ण प्रकरणमा पार्टी नेतृत्वलले आफ्नो प्रष्ट धारणा ल्याउनुपर्ने माग समेत गरे ।
उनले अहिले कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको हिस्सेदार रहेको स्मरण गराउँदै नक्कली शरणार्थी प्रकरणमा तानिएका नेता बालकृष्ण खाँणको प्रसंग पनि झिके।
‘‘कांग्रेस अहिले प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा एकजना वरिष्ठ नेता बालकृष्ण खाँणलाई थुनामा पठाएको छ’, उनले भने, ‘यदि नक्कली शरणार्थी प्रकरणमा बालकृष्णलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकारबाट हट्नुपर्छ, होइन भने बालकृष्णलाई निलम्बन गरियोस्।’
उनले बालकृष्ण प्रकरणमा पार्टी नेतृत्वलले आफ्नो प्रष्ट धारणा ल्याउनुपर्ने बताए। ‘यसबारेमा पार्टीले प्रष्ट भन्नु पर्यो। जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्’, उनले भने, ‘कांग्रेसले हिजो माओवादीसँग तालमेल गरेर चुनावमा गयो। तर चुनावपछि माओवादीले एमालेसँग मिल्यो। सत्ताको यो खेलमा एमालेलाई छिर्न नदिएको भए के हुन्थ्यो सभामुख हाम्रै हुन्थ्यो।’
उनले अहिलेका मन्त्रीहरुबारेमा जनता र कार्यकर्तामा धेरै गुनासो रहेको पनि गुनासो गरेका छन्।