© २०२३
बुटवल, २६ असार ।
ह्याप्पी इनर्जी प्रालिले संखुवासभामा निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच असार २५ गते सम्झौता भएको हो ।
नदी प्रवाही (रन अफ रिभर) प्रकारको आयोजनाबाट वार्षिक २३५.४० गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको मुख्य सुरुङ ३६५० मिटर र डायमिटर ३.५ मिटर हुनेछ । आयोजनामा जर्मनीको प्रतिष्ठित कम्पनीमा निर्मित २ वटा पेल्टन टर्बाइन (२०–२० मेगावाट) जडान गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहदेखि १९ किलोमिटर दूरीमा रहेको शीतलपाटी सबस्टेसनमा जोडिनेछ ।
कम्पनीका अध्यक्ष इन्द्र विष्टका अनुसार आयोजनाको ग्रस हेड ५१६ मिटर र नेट हेट ५०४.३८ मिटर हुनेछ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माण हुने आयोजनाबाट २०८५ जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।