© २०२३
बुटवल, २४ असार । तिलोत्तमा नगरपालिका वडा नं. ४ की सुनिता श्रेष्ठ उमेरले ४० वर्षकी भईन । उनले आज भन्दा करिब १० वर्ष अघिबाट स्थानीय सहकारी संस्थाहरूमा थोरै थोरै रकम बचत गरिरहेकी छन् ।
आफूले घर खर्चबाट बचाएर सहकारीमा रकम जम्मा गरेकी उनलाई आजभोलि डर लाग्न थालेको छ । विभिन्न सञ्चार माध्यमहरूमा सहकारीको रकम हिनामिना भन्ने खबरले उनको मनमा चिसो पस्न शुरु भएको छ । श्रेष्ठ भन्छिन्– ‘यता उता गरेर यहाँ चार पाँचवटा सहकारी संस्थामा रकम जम्मा गरेकी छु । कतै पाँच सय त कतै एक हजार कुन सहकारीमा कति भएको छ थाहा छैन । आफूलाई कहिले काहीँ चाहिए ऋण पनि ल्याएर चलाएको छु । आफ्नो गर्जो पनि टरेका छ तर आजभोली जताजतै सहकारीहरू भागे भनेको सुन्दा डर लागेको छ ।’ आफूले खाईनखाई गरेर बचत गर्ने फिर्ता माग्दा पाईएन भने के काम त्यो बचतको उनको प्रश्न छ ?
सोहि ठाँउकी ५५ वार्षिया सितादेवी बर्माले पनि धेरै सहकारी संस्थामा पैसा बचत गर्ने गरेको बताईन । उनले सबै आफैले चिने जानेको भएकाले खराब काम गर्देनन भन्ने विश्वास छ । तर पनि विभिन्न ठाँउको घटना सुन्दा बचत गर्ने बेलामा डर लाग्न थालेको बताईन । उनी भन्छिन् मैले घर खर्च कम गरेर बचाएको पैसा हो । त्यहाँको बचतले मैले धेरै ठूला समस्याहरू हिजोको दिन टारेकी छु । यदि बचत नगरेको भए मेरा समस्याहरू समाधान गर्न सजिलो हुनि थिएन ।
सहकारीमा थोरै थोरै रकम जम्मा गरेर एकै पटकमा धेरै रकम निकोलेर व्यवहार मिलाउदा आनन्द हुन्छ तर पछिल्लो केहि समय यता केहि सहकारीहरू भागे भन्ने हल्ला सुन्दा कता कता डर लागेको चाहि पक्कै छ । हुन त मैले जम्मा गर्ने सहकारीहरू सबै नजिकैका चिने जानेका छन् त्यसैले त्यति धेरै डराएको त छैन तै पनि के भरोसा । कता कता शंका लागेको उनले बताइन ।
सैनामैना नगरपालिकाकी सितादेवी चापागाईलाई पनि सहकारीमा पैसा जम्मा गरेको लामो अनुभव छ तर यसरी सहकारीहरू भागिरहेको सुन्दा कतै आफूले जम्मा गरेको रकम पनि हिनामिना हुन्छ कि भन्ने शंका छ । चापागाई भन्छिन् मैले चार वटामा जम्मा गरेकी छु । बुहारीको छोरीको पनि छ यसरी भने जस्तो गरि सहकारी संस्थाले मन परी गरे भने त हामीले खाईनखाई जम्मा गरेको के काम भयो र । यसरी सदस्यहरूको पैसा हिनामिना गर्नेलाई सरकारले कडा सजाय गर्नुपर्छ चापागाईले भनिन ।
पछिल्लो केही समय यता सदस्यहरूको रकम हिनामिना गरेर भागेका सहकारीको नाम सुनिन थालेको छ । कतै सहकारी सञ्चालक भागे त कतै सहकारी संस्थामा ताला लागेको छ भन्ने समाचारहरू सुनेर धेरै सहकारी संस्थाका सदस्यहरूले सहकारी संस्था प्रति शंकाले हेरेका छन् कति सदस्यहरूले त जम्मा भएको रकम पनि फिर्ता मागिरहेको अवस्था छ ।
बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालले सदस्यहरूले समुदायमा आधारित सहकारी रोज्न सके बचत सुरक्षित हुने बताए । उनले जुन संस्थाले वार्षिक रूपमा साधारण सभा गर्छ, आफ्नै क्षेत्रका सञ्चालक सदस्य भएको र लगानी उत्पादनशील क्षेत्रमा गरेका सहकारीहरू बलियो रहेको उनको भनाइ छ । नेपालले पछिल्लो समयमा समस्या परेका सहकारी संस्थाहरू अरू जिल्लामा दर्ता भएर यहाँ आएर कार्य क्षेत्र बनाएर बचत रकम संकलन गरेका र चर्को ब्याजदर दिने आश्वासन दिएका धेरै सहकारीहरू समस्यामा परेको बताए । त्यसै गरी लगानी निश्चित व्यक्तिमा र अनुत्पादित क्षेत्रमा लगानी गरेका सहकारी संस्थाहरूमा समस्या आएको छ । त्यसैले सदस्यले पनि सहकारी पहिचान गरेर मात्र बचत गर्नुपर्छ ।
रूपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले सदस्यहरूले संस्थाको बारेमा सम्पूर्ण ज्ञान लिनुपर्नेमा जोड दिईन । उनले सदस्यले सहकारी संस्था रोज्दा सहकारीको व्यवस्थापन पक्षलाई ध्यान दिनुपर्छ । त्यसैगरी संस्थाको बित्तिय सुचकहरू कस्तो छ । संस्थाले कस्तो क्षेत्रमा लगानी गरेको छ भन्ने विषयलाई ध्यान दिएर सहकारी संस्था रोज्ने हो भने आफूले गरेको बचत सुरक्षित हुने उनको भनाइ छ ।
त्यसै गरी सदस्यहरूले संस्थाको जगेडा कोष कति छ भनेर पनि ख्याल गर्नुपर्छ यदि जगेडा कोष राम्रो छ भने सहकारी संस्था समस्यामा पर्देन । सहकारी संस्थाले सहकारी ऐन भन्दा बाहिर गएर लगानी गरेको छैन भने सहकारी संस्था बलियो हुने पौड्यालको भनाइ छ ।
गाउँ गाउँमा सहकारी घरघरमा भकारी भन्ने उद्देश्य सहित केही समय अगाडी धेरै सहकारीहरू सञ्चालनमा आएका थिए । सहकारी संस्थामा बचत गर्ने र ऋण लिएर पेशा व्यवसाय गर्नेहरूको संख्या पनि धेरै छ । तर पछिल्लो समयका केही सहकारी संस्थाले सदस्यले जम्मा गरेको बचत फिर्ता समेत दिन सकिरहेका छैनन । यस्तो अवस्था आफुले बचत गरेको पैसा पाइँदैनन कि भन्ने सदस्यहरूमा चिन्ता बढिरहेको र सहकारी प्रतिको विश्वास पनि कम हुने अवस्था सृजना हुन थालेको छ । ।सहकारी संस्थाहरूले सहकारी ऐन विपरित लगानी गर्दा यस्तो समस्या सृजना भएको छ ।लुम्बिनी प्रदेश भित्र बचत तथा ऋृण, बहुउद्येश्यीय सहकारी संस्था, कृषि सहकारी लगायतका ३७ सय ५५ सहकारी संस्था सञ्चालनमा रहेका छन् ।