© २०२३
भैरहवा, २३ असार ।
नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियाशील सदस्यता नवीकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखि अनलाईन मार्फत क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । अनलाईन सदस्यता नवीकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राविधिक टिमको समेत ब्यवस्था मिलाईएको उनले जानकारी दिए ।
त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फत नै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत साधारण सदस्यता बिश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यवस्था मिलाईएको छ । अनलाईन मार्फत साधारण सदस्यता लिएको एक बर्षपछि क्रियाशील सदस्य बन्न पाउने ब्यवस्था गरिएको छ ।
यस्तै यही साउन ६ गते नै ४२ औं बिपी स्मृती दिवसको अवसर पारेर वृक्षारोपण पनि गरिने भएको छ । महामानव बिपीको स्मृतीमा रुपन्देहीको तित्तोतामा वडा नं. ११ स्थित भुुपुु सैनिक सखौरा हरियाली वन क्षेत्रमा बिहान ८ बजेदेखि वृक्षारोपण गरिने भएको हो । बिपीको स्मृतीमा कांग्रेस रुपन्देहीले प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको छ ।
त्यस्तै जारी वडा, नगर, पालिका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय पनि गरिएको सचिव हरि काफ्लेले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी कांग्रेस रुपन्देहीकी उपसभापति असनिता शाह ढुुगानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।