© २०२३
भैरहवा, २२ असार ।
चेम्बर अफकमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्थामहिलाउद्यमी संघ सिद्धार्थनगर–९, रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि भैरहवामा दुईदिने नेतृत्व विकास तथा अभिमुखीकरण तालिम भैरहवामा सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले संगठनको वार्षिक कार्ययोजना अन्तर्गत कार्यक्रम गरिएको बताए । उनले नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्ने, पदीय जिम्मेवारी कसरी पूरा गर्ने, नेतृत्व क्षमताको विकास जस्ता विषयमा तालिम केन्द्रीत हुने बताए । उनले विगतमा पनि यस्ता तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘विगतमा यस्ता खालका तालिम जिल्ला बाहिर सञ्चालन हुन्थ्यो । तर समय अभाव र सबैलाई समय नमिल्ने भएका कारण यसपटक संगठनकै सभाहलमा तालिम आयोजना गरिएको छ ।’ निःशुल्क तालिमबाट प्रशिक्षार्थीहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरे । आस्था महिला उद्यमी संघ चेम्बर अफ कमर्स, रुपन्देहीको वस्तुगत सदस्य रहेको र संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष ज्ञवालीले बताए ।
त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार खिमबहादुर खत्रीले स्थापनाकालदेखि नै संस्थाले विभिन्न उत्कृष्ट कार्यक्रमहरु गरिरहेको बताए । उनले संस्थालाई अझ उचाईमा लैजान आवश्यक रहेकोमा जोड दिए । उनले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
चेम्बर अफ कमर्स, रुपन्देहीका सचिव टीकाराम भट्टराईले नेतृत्व विकास मानव जीवनको महत्वपूर्ण पाटो रहेको बताए । उनले जीवनमा सफलता प्राप्त गर्न नेतृत्व विकास आवश्यक रहेकोमा जोड दिए ।
आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले तालिममा सहभागी भएपछि नयाँ कुरा जान्न मौका पाउने बताइन् ।
३० जनाको बढीको सहभागिता रहेको तालिममा प्रशिक्षक विजय पाण्डेले सहजीकरण गर्नेे कार्यक्रम संयोजकतथा चेम्बर अफ कमर्स, रुपन्देहीका सह–कोषाध्यक्ष मधुसुदन अर्यालले बताए । तालिम असार २३ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए ।