Butwal Today

लुम्बिनी प्रदेशकाे बजेट बहुमतले पारित

२१ असार २०८०, बिहीबार
अ+
अ-

बुटवल, २१ असार ।

लुम्बिनी प्रदेशकाे बजेट बहुमतले प्रदेशसभाबाट पारित भएकाे छ । बुधबार बसेकाे प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतले पारित भएको हाे । असारमा १ गते आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा बजेट पेस गरेका थिए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई समृद्धि र आत्मनिर्भर गराउने बजेट आएको जनाए । उनले प्रदेशबासीकाे मनाेभावना अनुसार बजेट ल्याइएकाे र सरकारले साेहीअनुसार काम गर्नेसमेत बताए  ।

आर्थिक मामिलामन्त्री मास्कीले पनि यसवर्ष बजेटमा देखिएका समस्या आगामी वर्षमा सुधार गर्दै जाने बताए । उनले प्रतिपक्षले उठाएका सही मागप्रति सरकार सम्बाेधन गर्न तयार रहेकाे जनाउँदै केही समस्या र विमति भए छलफलबाट टुँग्याइने जनाए ।

यसअघि बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरेर बजेटमाथिको छलफलमै सहभागी भएको थिएन । एमालेकै नाराबाजी र बहिस्कारका बीच बजेटमाथि छलपल अघि बढाइएको थियो । मंगलबार बेलुका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भएको वार्तापछि एमालेले बुधबारको प्रदेशसभा बैठक चल्न दिएको थियो अजको बैठकले बजेट पास गरेको हो ।