© २०२३
बुटवल, १४ असार ।
बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका बुटवलको आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती पक्राउ परेका छन् । रुपन्देही प्रहरीले घर्तीलाई शुक्रबार पक्राउ गरेको जानकारी गराएको छ ।
आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरी लामो समयदेखि सम्पर्कबिहीन थिए ।
बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई ५० भन्दा बढी बचतकर्ताहरुको लिखित निवेदन परेपछि प्रहरीले खोजी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको बताए । उनी माथि थप अनुसन्धान भइरहेको अर्यालले बताए । घर्ती विरुद्ध ५० भन्दा बढी बचतकर्ताले प्रहरीमा निवेदन दिएका छन् ।
सन्चालकहरुले सहकारीको सिद्धान्त बिपरीत काम गर्दा उक्त सहकारी गर्त बर्षको माघ महिना देखि समस्यामा परेको थियो ।