© २०२३
बुटवल, १३ साउन ।
बजार अनुगमनलाई वैज्ञानिक र ब्यवस्थित बनाउनुपर्ने रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघले माग गरेका छन् । रुपन्देहीमा गरिने बजार अनुगमनको नाममा ब्यवसायीहरुलाई दबाब र तनाव दिने काम भएको भन्दै यसलाई ब्यवस्थित गरेर अघि बढाउनुपर्ने माग राखेका हुन् ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष लक्ष्मण प्रसाद पोखरेलले ब्यवसायीहरुको सामान अखाद्य वस्तु भनी बिना परीक्षण बाटामा लगेर पोख्ने र गलत प्रचार गरिने गरेको आरोप लगाए । असार ६ गते मंगलबार आफ्नो संघका सदस्य तिलकराम खरेलको मनकामना डेरी तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाको अगुवाईमा गरिएको अनुगमनको क्रममा रिस साँध्ने रुपमा ब्यवहार गरिएको उनले दुःखेसो गरे । संघले आफ्नै नीति र एजेन्डामा रहेर अनुगमन, निर्देशन र जरिवाना गर्दै ब्यवस्थित गराउँदै आएको भन्दै उनले ब्यवसायीलाई बदनाम गराउने काम भएको बताए । मिष्ठान ब्यवसायमा देखिएका धेरै समस्याहरु समाधान गर्दै सुधारको काम निरन्तर चलेको भन्दै उपभोक्तामुखी ब्यवसायमा जोड दिएको उनले दाबी गरे । सरकारलाई कर तिरेपनि त्यस अनुसारको सेवा नदिएको उनले दुखेसो गरे ।
बुटवलमा १५ वर्षदेखि निरन्तर ब्यवसाय गर्दै आएका तिलकराम खरेलले फ्रिजको खुवा बाटोमा हालेर फिनेल खन्याउने काम भएको दुखेसो गर्दै कुनै परीक्षण बिना नै अखाद्य भनिएको दुखेसो गरे । एकाबिहानै ८ बजे बिना उपकरण, बिना चेकजाँच र बिना ल्याब टेष्ट अनुगमनको नाममा ब्यवसायमाथि भएको काम गलत भएको उनले दाबी गरे । हाल रुपन्देहीमा १ सय १० जना ब्यवसायी आवद्ध छन् ।