© २०२३
सुर्खेत, १ असार ।
आर्थिक वर्ष २०८०÷०८१ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजारको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ नौ अर्व २० लाख २४ हजार र पूँजीगततर्फ १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन भएको हो । शुक्रवार कर्णाली प्रदेश सभाको दशौं बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्णालीको मुख्य समस्याका रुपमा रहेको गरिवी न्यूनिकरणका लागि कर्णाली समृद्धिको अभियानलाई परियोजनाको रुपमा अगाडि बढाइने बताए ।
‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार, त्यसका लागि सुशासन र पूर्वाधार’ अभियान मार्फत कर्णाली समृद्धि अभियानलाई परियोजनाको रुपमा अगाडि बढाइने भन्दै मन्त्री सिंहले उक्त परियोजनाका लागि एक अर्ब ५० करोड बजेट विनियोजन भएको जनाए । यस्तै सांसद विकास कोषका लागि एक अर्व ३६ करोट बजेट विनियोजन भएको छ । कर्णालीमा भौतिक पूर्वाधार, यातायात र सहरी विकासका लागि १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन भएको छ ।
यसैगरी कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न ८५ करोड, महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रकम प्रोत्साहन भत्ता, प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न र तला थपका लागि ५५ करोड ५६ लाख विनियोजन गरिएको छ । कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारा र से–फोक्सुन्डो ताल जोड्ने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन भएको छ ।