© २०२३
गुल्मी, जेठ- जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता बनाउन आएका दुइ जना अपाङ्गता भएका व्यक्तिलाई सवारी साधनमै पुगेर नगारिकता प्रदान गरेको छ । सोमबार परिवारको साथमा नागरिकता बनाउन आएका मुसिकोट नगरपालिका वडा नं १ अन्र्तगत वर्ष १७ की पार्वती थापा मगर र वडा नं ५ का वर्ष १७ कै निर्मल खरेललाई प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सवारी साधनमै पुगेर नागरिकता प्रदान गरेका हुन ।
जन्मजात पूर्ण रुपमा अपाङ्गता भएका दुबै जनालाई गाडिवाट बाहिर निकाल्न समेत समस्या देखेपछि प्रशासन परिशरमै गाडि पुराएर सेवा प्रदान गरिएको हो । ‘क’ बर्गका अपाङ्गता भएका उनीहरुलाई गाडिवाट बाहिर निकाल्दा थप समस्या उत्पन्नहुने लागेर गाडिमै पुगेर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।
अपाङ्गता भएकै कारण दुवै जनाले कुनै पनि काम गर्न नसक्ने देखेपछि प्रशासन कार्यालयले आवश्यक सबै प्रकृया पुराएर नागरिकता प्रदान गरेको थियो । कार्यालयवाट आफना छोराछोरीको नागरिकता गाडिमै पुगेर सजिलै बनाई दिएकोमा परिवारले खुसि व्यक्त गरे । उनीहरुले अब सरकारले दिने सुबिधा आफ्ना छोराछोरीले पनि पाउनेमा आशावादी बनेका छन ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता नभएकै कारण अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट कोही पनि बञ्चित नहोउन भन्ने उद्देश्यले विगतमा नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्दै आएको प्रशासकीय अधिकृत नरेश गिरीले बताएका छन ।