© २०२३
गुल्मी, जेठ- गुल्मीको धुर्कोट गाउँपालिकामा पोषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम शुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीको सहयोगमा धुर्कोट गाउँपालिका ७ मा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यालयले त्यस क्षेत्रका लक्षीत वर्गहरू, दलित, जनजाती, विपन्न तथा सिमान्तकृत समुदायको पोषणमा सुधार गरि उनीहरूमा आयआर्जन बढाउने मुख्य राखेको छ । सोही उद्देश्य अनुरूप आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कुखुरा पालन कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्ले बताए ।
समूहमा रहेका ६० जना सदश्यहरू मध्य छनोटमा परेका २५ जनालाई प्रति घर ५० ÷५० का दरले बाह्र सय ५० वटा स्थानीय तथा उन्नत जातका ग्रामिण कुखुराहरू निशुल्क रूपमा बितरण गरिएको हो । कार्यालयले कुखुराका अतिरिक्त औषधि, दाना र पानी खुवाउने भाँडा समेत उपलब्ध गराएको छ । स्थानीय समुदायको २५ प्रतिशत र कार्यालयको ७५ प्रतिशत अनुदानमा कुखुराको खोर निर्माणका लागि पाँच लाख रूर्पैया कार्यालयको तर्फवाट उपलब्ध गराईने बताईएको छ ।
गर्भवती महिला र वालवालीकाहरूमा पोषणमा सुधार ल्याउन मासु र अण्डाका लागि गत दुई महिना अघि स्थानीय जातका जस्तै साकिने, घाँटी खुईले र उन्नत तर्फ ब्याल्याक अष्ट्रालोक तथा न्यू हेम्सायर जातका कुखुराहरू बितरण गरिएको थियो । उक्त कार्यक्रमबाट निम्न आम्दानीहुने विपन्न परिवारलाई ठूलो मद्दत पुगेको स्थानीय शिवालय कृषि तथा पशुपालन बहुउद्देश्यीय सहकारी संस्थाकी सदश्य बिष्णु कुमारी बिकले बताईन ।