© २०२३
भैरहवा २६ जेठ । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति, रुपन्देही आन्दोलनमा उत्रिएको छ । विभिन्न माग राख्दै विद्यालय कर्मचारीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा धर्ना दिएका छन् । नीति तथा कार्यक्रममा उल्लेख भएर पनि बजेटमा नसमेटिएको भन्दै गत जेठ २१ देखि धर्नामा रहेका विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा शिक्षकहरुले पनि ऐक्वद्धता जनाएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको निर्देशनअनुसार ६ दिनसम्म शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा धर्ना दिइएको परिषद्का रुपन्देही जिल्ला अध्यक्ष होम प्रसाद ढकालले बताए ।
राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ आर्थिक वर्ष २०८०÷०८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत गरिएको बजेटमा नसमेटिएको र विगतमा भएका सम्झौताहरु कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिएको विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेश सदस्य जीवन ज्ञवालीले बताए । ‘विगतमा भएका सम्झौताहरुप्रति सरकार जिम्मेवार नबनेकाले दबाबका लागि आन्दोलन सुरु गरिएको हो, विद्यालय कर्मचारीका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ, ’उनले भने ।
शुक्रबार धर्ना कार्यक्रममा बोल्ने शिक्षक संगठनका अगुवा तथा विद्यालय कर्मचारीहरुले सरकारसँग विभिन्न समयमा गरिएका सम्झौता कार्यान्वयन नभएकोले विद्यालय कर्मचारी आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।। उनीहरुले विद्यालय कर्मचारीका माग सम्बोधनका लागि सरकारले चासो दिनुपर्ने माग गरे ।
कार्यक्रममा विद्यालय कर्मचारी परिषदका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार डोलराज शर्मा, शिक्षक महासंघका केन्द्रीय सदस्य गंगा प्रसाद नेपाल, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष भिम पाण्डेय, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष गुणाखर भट्टराई, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराम भण्डारी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष धनिश्वर गौतम, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सचिव मुबारक अली, बाल शिक्षक रोहिणी गाउँपालिका अध्यक्ष मीना पछाई, विद्यालय कर्मचारी तिलोत्तमा अध्यक्ष नरेन्द्र गुरुङलगायतले बोल्दै विद्यालय कर्मचारीले न्यूनतम सेवासुविधामा काम गरिरहेकाले सरकारले कर्मचारीका माग सम्बोधन गर्नुपर्ने बताए । सरकारले विद्यालय कर्मचारीको सेवासुविधा वृद्धि गर्नुपर्नेलगायत उनीहरुको माग छ ।
नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीका अध्यक्ष होम प्रसाद ढकाल, पूर्व केन्द्रीय अध्यक्ष डोलराज शर्मा, सैनामैना नगरपालिका अध्यक्ष धनराज चौधरी, जिल्ला सचिव सुरेन्द्र गुप्ता लगायतको आतिथ्यता रहेको थियो । मुलुकभरी ३५ हजार ६८ र रुपन्देहीमा करिब ५ सय बढी विद्यालय कर्मचारी कार्यरत छन् ।