© २०२३
रोल्पा, २६ जेठ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले संघीयताको नाममा सिंहदरवारको लुट गाउँगाउँ पुगेको वताएका छन् । राष्ट्रिय जनमोर्चा रोल्पाले शुक्रवार सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले उक्त कुरा वताएका हुन् ।
संघीयताले लुट र भ्रष्टाचारलाई तलतल सम्म विस्तार गरेको केसीको भनाई छ । संघीयताकै कारण समग्र शासन व्यवस्था नै कमजोर वन्दै प्रतिगमनकारीहरुले टाउको उठाउन थालेको अध्यक्ष केसीको भनाई छ । “हजारौ राजाभन्दा वरु एउटा राजा नै ठिक थिए भन्ने भाष्य बनाउँदै प्रतिगामीहरु सलवलाउन थालेका छन्”– केसीले भने । संघीयताको पक्षमा व्यापक जनमत बन्दै गएको वताउँदै एक दिन यो खारेज हुने अवस्थामा पुग्ने केसीको भनाई छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेहरु नै भ्रष्टचारमा लिप्त रहेका कारण नेपालको लोकतन्त्रमाथि लोकतन्त्रवादीहरुवाटै खतरा रहेको अध्यक्ष केसीको भनाई छ ।
“राजा फर्काउन छिमेकी मित्रराष्ट्र कम्मर कसेर लागेको छ, त्यसैलाई वल पुर्याउन हाम्रा शासकहरुले पनि कहिले जलारीको नाम त कहिले गेरु वस्त्र धारण गरेर त्वमशरणम गरिरहेका छन्”–केसीले भने । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गरेको गेरु वस्त्र धारणप्रति लक्षित गर्दै केसीले भने–“यो सांस्कृतिक विचलनको पराकाष्टा हो ।” एउटा कम्युनिष्टले कसरी त्यस्तो आँट गर्न सक्छ भनी उनले प्रश्न गरे । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा राष्ट्रियताको मुद्दा उठाउन नसकेको केसीको भनाई छ । “नेपाललाई सवभन्दा वढी खतरा कसैवाट छ भने त्यो मित्रराष्ट्रवाटै छ”–पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम पार्ने षडयन्त्र भईरहेको अध्यक्ष केसीको भनाई छ । “यस प्रकरणमा प्रमुख प्रतिपक्षले जुन दवाव दिनुपर्ने हो त्यसो देखिएन वरु उसले समेत यस प्रकरणलाई सामसुम पार्न लागिपरहेको हो की भन्ने आशंका सिर्जना भएको छ”– केसीले भने । केही मान्छेलाई देखाएर यो प्रकरण सामसुम हुने खतरा वढेको केसीले बताए ।
राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सोही पार्टीका नेता हस्तमणी पुनले गरेका थिए । पत्रकार सम्मेलनमा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल पनि उपस्थित थिए ।
राष्ट्रिय जनमोर्चा रोल्पाले जेठ २७ र २८ गते आयोजना गर्ने चौथो जिल्ला सम्मेलन उद्घाटन गर्न अध्यक्ष केसी रोल्पा आएका हुन् ।